वैशाख २१ – साउदीबाट टेलिफोन गरेर दाइ शिवशम्भुले नेपाललाई अमेरिका बनाउँछु भनेपछि भाइ शंकर एकछिन त अचम्ममा पर्नुभयो, ‘के भनेका होलान् !’ १६ महिनाअघि साउदी गएका दाइलाई एक्कासी के भयो र देशको यति विघ्न चिन्ता गरे भनेर शंकर अचम्मित हुनुभएको हो ।
शिवशम्भुले कहिले आफ्नो ज्यान खतरामा रहेको, कहिले नेपाललाई अमेरिका बनाउने त कहिले दुई लाख साउदी रियालको चिठ्ठा परेको भनेर बैंकमा खाता खोल्न भन्ने । परिवारका सदस्यहरुलाई विदेश गएको छोराको व्यवहारले पर्नु सम्म पिर पर्यो ।धनुषाको उमाप्रेमपुर गाविस चारका शिवशम्भु महतो घरका जेठा छोरा हुन् । शिवशम्भुले ७ कक्षासम्म मात्रै पढ्नुभएको छ । पढाइ कम भएकाले काम र कमाइ नभएपछि उहाँ रोजगारी खोज्दै मलेसिया जानुभयो । त्यतिबेला उहाँ १८ वर्षको मात्रै हुनुहुन्थ्यो । मलेसियामा ५ वर्ष बस्नुभयो । कमाइ ठिकै थियो । त्यसैले जाँदा लिएको अनि पहिल्यैदेखि रहेको परिवारको ऋण पनि तिर्नुभयो । घर फर्किएर काठको घर बनाएका शिवशम्भुले बिहे पनि गर्नुभयो ।
तर एक वर्ष नबस्दै व्यवहार फेरि पनि पहिलाको जस्तै हुन थाल्यो । घर चालउन पैसा नभएपछि ऋण नै लिनुपर्ने भयो । त्यसैले फेरि विदेश जाने हुनुभयो । गाउँकै एजेण्टलाई साउदी जान एक लाख पाँच हजार रुपैयाँ बुझाएका शिवशम्भुलाई उनले अर्कै एजेण्टको जिम्मा लगाए । ती एजेण्टले ललितपुरको धोविघाटमा रहेको चन्द्रमा ओभरसिजबाट साउदी पठाए ।२०७२ मंसिरको दोस्रो हप्ता साउदी पुगेका शिवशम्भुले कन्स्ट्रकसन लेबरको काम गर्नुहुन्थ्यो । उहाँको तलब महिनाको ८ सय रियाल थियो । काम र कमाई ठिकै छ भनेर फोन गरिरहने शिवशम्भुले गएको एक महिनादेखि भने असमान्य व्यवहार देखाउन थाल्नुभयो । घरमा फोन गर्दा पनि अनौठा कुरा गर्ने गरेको परिवारका सदस्यहरु बताउँछन् । ‘मलाई एक दिन दाइले रुँदै फोन गरेर सुरुमा मेरो ज्यान खतरामा छ भन्नुभयो तर पछि बोल्दा बोल्दै नेपाललाई म अमेरिका बनाउँछु भनेपछि म छक्क परें’ शिवशम्भुका माइला भाइ शंकर महतो भन्नुहुन्छ ।त्यसपछि घरमा फोन गर्दा अरुसँग पनि अनौठा कुरा गरेपछि परिवार के गर्ने के नगर्ने भन्ने अन्योलमै थियो । गएको वैशाख ११ गते शम्भूले बुबालाई पनि फोन गर्नुभएको थियो । ‘त्यतिबेला उहाँले मलाई दुई लाख साउदी रियालको चिठ्ठा परेको छ । अब यति धेरै पैसा कहाँ राख्ने हो । बैंकमा राख्ने हो भने खाता खोल्नु पर्छ भन्नुभएछ’ शंकर भन्नुहुन्छ ।
भाइसँग होस हराए जस्तै कुरा गरिसकेकाले शिवशम्भुले बेहोसीमै कुरा गरेका होला भन्ने लागेर बुवाले साथीहरुलाई फोन गर्नुभयो । तर साथीहरुले कुनै चिठ्ठा नपरेको बताएपछि परिवार शिवशम्भुको मानसिक अवस्था गुमाएको निष्कर्षमा पुग्यो । त्यतिकैमा बुवालाई शिवशम्भुका साथीहरुले फोन गरेर उहाँले मानसिक अवस्था ठिक नभएको जस्तो व्यावहार देखाइरहेकाले छिट्टै घर फर्काउन भने ।शिवशम्भुले फोनमा गरेका कुरा अनि साथीहरुले भनेपछि परिवार शिवशम्भुको मानसिक अवस्था ठिक नभएको निष्कर्षमा पुगे तर कसरी उद्धार गर्ने केही थाहा थिएन । त्यतिबेला शंकर काठमाडौंमै हुनुहुन्थ्यो । त्यसैले घरबाट आएका बुवालाई लिएर म्यानपावर खोज्दै हिँडे । एक हप्तापछि बल्ल पत्ता लागेको म्यानपावरले शिवशम्भुलाई उद्धार गरिदिने आश्वासन दियो । म्यानपावरले आश्वासन दिएको हप्तासम्म पनि केही नभएपछि शिवशम्भुको परिवारले गाउँकै शत्रुधन महतोलाई पनि गुहारे । उनले केहीदिनमै श्रम र परराष्ट्र मन्त्रालय मार्फत साउदीमा रहेको नेपाली दूतावासमा पत्र पठाइदिएको छु भने । तर शिवशम्भुका साथीहरुलाई फोन गरेर सोध्दा उनीहरुले दूतावास कुनै पत्र नआएको बताए ।
साथीहरुले कम्पनीलाई गुहारे तर सहयोग माग्न गएकाहरुलाई नै कम्पनीले उसले नाटक गरेको हो भन्दै सहयोग माग्न आउनेहरुलाई जाने मन भएको हो भने टिकट काटेर पठाइदिने धम्की दिएको सुनाए ।
 
Post a Comment